Saturday, September 8, 2012

खप्तड

सुदूर पश्चिमाञ्चलका पर्यटकीय स्थलहरु मध्ये खप्तड एक अत्यन्त सुन्दर, रमणीय अथाह पर्यटकिय सम्भावनाको क्षेत्र हो । सेती अंचलका चार जिल्लाहरु बझाङ्गं, बाजुरा, डोटी र अछाम जिल्लाको सिमानामा पर्ने खप्तड १० हजार देखि १२ हजार फिटको उचाईमा अवस्थित छ । २६ दह, २२ पाटन, २६० प्रजातीका चराहरु, ५०० किसिमका जडिबुटी, बिभिन्न किसिमका फूलहरुले सिंगारिएको खप्तड धर्तिकै स्वर्ग भूमि हो । जैबिक बिबिधताले भरिपूर्ण यो ठाँ
उ प्रकृति प्रेमि, अनुसन्धानकर्ताका लागि महत्वपूर्ण देखिएकाले यसको संरक्षण गर्न सन् १९८४ मा खप्तड राष्ट्रिय निकुञ्जको घोषणा गरि नेपाली सेनाले पनि यसको संरक्षण गरी राखेको छ । खप्तड पर्यटकका लागि अनुपम गन्तब्य (Paradise Destination) हो ।

खप्तड क्षेत्रलाई अझ ब्यवस्थित गर्न र पर्यटन बिकासका पूर्बाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन बिकास समिति गठन गरेको हो । खप्तड आश्रम, त्रिवेणी, सहस्रलिङ्ग, खडुली, डडुली, माईको थान, खापर मष्टा माण्डु, खापर दह, नागढुङ्गा, डाँफेकोट यहाँका धार्मिक तथा पौराणीक स्थलहरु हुन । यस ठाउँमा ब्रहमलिन १००८ खप्तड स्वामी श्री सच्चिनानन्द सरस्वतीले करिब ५ दशक सम्म तपस्या, साधना गरेकाले यस क्षेत्रको झन ठूलो महत्व बढाएको छ । हाल स्वामीजीको आश्रम स्थललाई संग्राहालय बनाईएको छ । त्यहाँ उनले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन हेर्न पाईन्छ । नेपाली सेनाले आश्रमको संरक्षण गरेका छन । समग्रमा खप्तड आफै प्रकृतिको एक जीबित संग्राहालय हो ।

यहाँ हरेक बर्ष गरेर पूर्णीका दिन गंगा दशहरा मेला लाग्दछ । जुन मेलामा सुदूर पश्चिमका सांस्कृतिक रितीरिवाज, भेषभुषा, देउडा देख्न पाईन्छ । सुदूर पश्चिमका ९ जिल्ला र भारत उत्तराअंचलका तिर्थयात्री उक्त मेलामा भेटीन्छन । पूर्णीमाका दिन त्रिबेणीमा नुहाउँदा चार धाम (गयाँ, काशी, प्रयाग, बद्री) नुहाए सरह हुने, पाप नासिने र पितृ देवता खुशी हुने मान्यता रहि आएको छ ।

खप्तड जान डोटी (सिलगढी) र अछाम (साँफे) बाट दुई दिन, बझाङ्गको चैनपुर बाट एकदिनको पैदल यात्रा लाग्छ । सबैभन्दा छोटो आरामदायी, सुरक्षीत बाटो बझाङ्गको तमैल (जहाँ सम्म बस यातायातको सुबिधा छ ) हो । यहाँबाट ५ घण्टामा खप्तड सजिलैसगँ पुगिन्छ ।

खप्तड साँस्कृतिक, प्राकृतिक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले अति महत्वपूर्ण भएपनि किन ओझेलमा परेको छ ? यो गहिरो मननको बिषय हो । यस क्षेत्रमा जति पर्यटन बिकासको सम्भावना छ, त्यति नेपालको अन्य ठाउँमा छैन । किनभने सुदूर पश्चिम भन्दा पूर्बी नेपालतिर पर्यटकहरुले धेरै घुमिसकेका छन र त्यहाँ नौलोपन छैन । तर सुदूर पश्चिममा पर्यटकले नयाँ चिजहरु देख्न, अनुभव गर्न पाउँछन ।। हाम्रो खप्तड क्षेत्रमा त्यसको दाँजोमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन बिकास समिती र नेपाली सेनाबाट यात्रीहरुलाई धेरै सुबिधाहरु दिईदै आईएको छ ।

राज्यले हाल बार्षिक करिब २ करोड भन्दा बढी रकम खप्तड क्षेत्र पर्यटन बिकास समितीलाई उपलब्ध गराउँदै आएको छ । यो रकम खप्तडको पूर्बाधार बिकासकालागि अत्यन्तै न्यून रकम हो । तर यसको पनि अधिकतम सदुपयोग भएको पाइएको छैन । राज्यले लगानी रकमको अनुगमन र मुल्याकंन गर्नु पर्छ । यस पल्ट अख्तीयार दुरुपयोग आयोगको पहलमा पहिलो पटक पर्यटन मन्त्रालयले प्रोजेक्ट अनुगमन टोली खप्तड क्षेत्रमा पठायो । कति सुक्ष्म रुपले निरिक्षण, अबलोकन भयो त्यसको जानकारी पछि थाहाँ पाईएला ।

खप्तड क्षेत्रको साथै रामारोशन, बडिमालिका, मालीकार्जुन आदि ऐतिहासिक, धार्मिक, प्राकृतिक स्थलको सम्भाब्यता अध्ययन र (Feasibility Study) गरी निस्चित बर्षको कार्ययोजना बनाउनु जरुरी छ । कार्यतालिका बनाई त्यसको कार्यान्बयन गरी कमि कमजोरी पत्ता लगाई पुनः सोच बिचार गरी योजनाबद्ध ढंगले त्यस क्षेत्रको पर्यटन बिकासमा राज्य, स्थानीय सरकार, समाजसेवी, राजनैतीक नेता, कार्यकर्ता, बुद्धिजिबी, कर्मचारी सबैले तन, मन बचन र कर्मले ईमान्दारीपूर्बक काम गरेमा खप्तड क्षेत्र मात्र हैन सुदूर पश्चिमका जनताको आर्थिक स्तर माथि उठाउँन पर्यटन ब्यवसायले ठूलो टेवा दिने छ । साथै पर्यटन प्रेमि, जनमुखी, दलगत र ब्यक्तिगत स्वार्थ हैन, खप्तडको स्वार्थ हेर्ने दक्ष, अनुभवी ब्यक्ति समेतको स्थानीय टिमको संयन्त्र बन्नु जरुरी छ 

No comments:

Post a Comment