Saturday, September 8, 2012

nepalnewstime मा मेरो लेख । समय हुने साथीहरुले पढेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वासमा छु ।


खाडी जीवनका कठिन भोगाईहरुसंग राज्यको सरोकार छ र?

कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलासा वोकेर सेती नदि झैं उर्लेर बग्ने आसुँ पुछ्दै  घर अनि स्वदेश छोड्न  बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।  स्वदेशमा रहेको  बढ्दो बेरोजगारी, राजनितिक अस्थिरता, बन्द हडताल अनि कसैको लहलहैमा लागेर विदेशीन बाध्य नेपालीहरु लाखौको संख्यामा छन्   र अझै बढ्ने क्रममा छन् । घरको आर्थिक अवस्था कमजोर तथा परीवारलाई सुखि अनि खुशि पार्न नेपालमा रोजगारीको  अवसर नमिलेपछि राम्रो घरानाका राम्रै देशमा अनि बाँकी रहेकाहरु खाडी का मुलुक मा जान बाध्य छन् । सानो बुद्धी ठूलो आकांक्षा, वेरोजगारीको समस्या आर्थिक अभाव यहाँ वाट विजारोपण हुन्छ विदेशीने यात्राको पाटो । यसरी अगाडी वढने क्रममा ठूलो लगानी सानो प्रतिफलको दिशा तिर अगाडी बढछन्  पाइलाहरु
सुरु सुरुका त्यी दिनहरुमा  पोल्ने  पचपन्न डिग्री को  उच्च तापक्रमले पारेको प्रभाव सम्झदा आज पनि मन झसङ्ग हुन्छ । फेरी अर्को जुनी पो प्राप्त गरिएको हो कि भन्ने पनि लाग्छ कैलेकाही त , प्राय समुन्द्री तटहरु अनी बालुवै बालुवाले भरीएको यो मरुभुमीलाई मनिसहरुले सोचेभन्दा बढी नै मनोरम र समृद्ध त बनाए तर यो आफ्नोपनको अभावमा रोएको मनलाई त्यी मनोरम अनी समृद्ध सारा कुराहरुले भुलाउन खोजेपनी फकाउन नसक्दो रहेछ । हिजोआज मलाई मेरो देशको, मेरो जन्मभुमिको असाध्यै याद आइरहेको छ,  परिवारको याद्ले रुहाएको छ । मैले भनेको सुनेको बिदेशिनुको वास्तविकता स्वंयमले महसुस गर्दा अनी आफ्नोपनको याद्ले तड्पाउँदा पर्देशीहरु आफूसंगै सुतेका साथीहरु बिहान उठ्दा निर्जिव वस्तुमा परिणत हुन्छन रे ? भनेर सुनको, साँच्चै रहेछ । दिनभर ५५ डिग्रीमा कम अनि रति १८ को एसीले कहाँ थम्दो रहेछ र  ।
हामी यहाँ बस्नु हाम्रो रहर होइन बाध्यता हो, मजबुरी हो । पैसाको लागि हामी यहाँ भुलेपनी वास्तवमा हामीलाई यो देश मनपर्दैन । अरुलाई त खै कस्तो लाग्छ कुन्नी ? तर मलाई पर्देशीभूमिमा रहेका कुनै कुराहरु मनपर्दैन । आकाशै छोला झै गरेर ठडिएको संसारको सबै भन्दा ठुलो बिल्डिङ्”बुर्जखलिफा’ भन्दा मेरै राजधानीको पुरानो नौँतले धरहरा मनपर्छ मलाई । नूनैनून भएका बिकराल समुन्द्र भन्दा मेरै देशको पवित्र झर्झर झरना अनी ताल, कुवाहरु नै राम्रा लाग्छन् मलाई । यहाँका ठूलाठूला बिल्डिङ्भित्र राखिएका सान्दार सोफाहरुमा भन्दा मेरै घरचेउको बरपिपल छाँयामा बनाइएका चौँतारीमा बिसाउँदा दु:ख बिसाएझै लाग्छ मलाई । तर के गर्नु खै ? नाम सुन्दा मात्र पनि उदास लाग्ने यो परदेश हामी सबैको गन्तब्य स्थान भएको छ, बाध्यता भएको छ, अधुरो सपना पुरा गर्ने एक एक उद्देश्य अनि बाटो  भएको छ । नचाहँदानचाहँदै पनि स्वदेश भन्दा खाडी नै प्यारो  भन्नु परेको छ । हाम्रो पिडा खै कस्ले सुनीदिने? ब्यथा कस्ले बुझिदीने ? देख्नेसुन्ने कोही नभएपछी स्वदेश भन्दा खाडी नै प्यारो भन्नु सिवाय अरु के नै गर्न सकिदोरहेछ र ?
नेपालमा पानी पर्दा यो मरुभूमीमा छाताओढ्नु पर्ने । समुन्द्र पारि छु तर नेपालका हरेक राम्रा अनि नराम्रा क्रियाकलापले असर गरेको नै छ । चाहे त्यो पारिवारिक होस् वा सामाजिक अथवा रास्ट्रिय किन नहोस । खाडी
जीवन जिउँनेहरु दुई जीवन एकै साथ भोगिरहेक हुन्छन् । एक आफ्नो मातृभुमिमा, अर्को कर्म भुमिमा । जहाँ हामी गएका छौं । सबैको भोगाई यहि हो । चाहे त्यो जीवन धान्ने वाध्यतामा बाहिरिने होस् या पढ्न जाने । कहिले त लाग्छ हामी जस्तो कठोर, सहनशील र साहस भएको अरु को होला र?
यताको महङगीले भएन, उताको महङगीले पनि सताउँछ । शरीर यहाँ छ दैनिकी सिधै नेपालमा जोडिएको हुन्छ । बन्द हडताल नेपालमा हुन्छ, असर यहाँ पर्छ । उफ फेरि महङगी बढ्ने भो । अब त्यो खर्च कसरी धान्ने हो ? डिजेल पेट्रोलको हाहाकार छ रे ? ग्यास पाइदैन रे ? ओहो खाना कसरी बनाएर खालान् ? ग्याँस लिनलाई कताकता भौतारिदै होलान् । जब कि आफूलाई या खाडीमा बस्दा ग्यास, डिजेल र पेट्रोलको कहिले पनि अवाव महसुस हुँदैन।
राजनिति गर्नेहरू गरिरहेका छन् । बन्द हडताल गर्नेहरू गरिरहेका छन् । ठगी गर्नेहरू गरिरहेका छन् । सबै जे गरे पनि गरुँन । बस काम गर्छु पैसा जोहो गर्छु । पठाइ दिन्छु, जीवन चलिहाल्ला नि? बाँकि के मतलब? तर त्यो हाम्रो नीच सोचाई रहेछ । तिनिहरु नै हो रहेछ जस्ले देशलाई अशान्त र बेथितिको सिकार बनाएको । त्यसले त हाम्रो चूलोचौका समेत नछोड्ने रहेछ । अनि भन्न मन लाग्छ नेपाल त खत्तम भएछ । तर नेपालमा भाको साथी भाई भन्छन्, “देशको तेतिको माया लाग्ने हो भने किन बिदेश बसेको त? आईज न यहि केहि गर । नहुने कुरा के छर?”
सोच्दा हो नै जस्तो पनि लाग्छ । तर आज बाध्यताले भन्न परेको छ । यदि नेपालीहरु जीवन धान्ने माध्यम खोज्दै नबिदेशिएको भए देश कसरी चल्थ्यो होला? निकासी गर्ने केहि छैन । सबै आयत मात्रै छ । बिदेशीले सित्तैमा केहि दिदैन । पैसा दिनै पर्छ । विदेशी दाताको सहयोगको भरमा देश चल्दैन । खासमा देश त बिदेशिने कै पसिनाबाट चल्दो रहेछ । तर  जहाँ छौं, आखिर खाडी मै  परियो । कुनै अपनत्वको ब्यबहार पाउँदैनौ । आफ्ना देखि दुर छौ । कुनै भर र सहयोग र आत्मियाता पनि पाउँदैनौं । तर पनि बाँच्नु पर्ने रहेछ आफ्नाका लागि ।

तर पनि त्यसरी दुःख गरि आउँदा पनि यहाँ लुट्नेहरु लाइन लागेर पर्खिरहेका हुन्छन् । जसले भेट्यो त्यसैले लुट्छ ।  जहाँ भेट्यो त्यहाँ लुट्छन् । त्यही बैदेशिक रोजगारीमा जाने नेपालीलाई किन सरकारले आफ्नो घरको निम्ती प्रयोगमा लगिएको प्रती एकथान सामान (जस्तै LCD, TV अन्य सामान) हरुमा पनि भन्सार लिने गर्छ ? यो सरासरी बैदेशिक रोजगारीमा गएको नेपालीहरु माथि गरिएको अन्याय भए जस्तो लाग्दैन र ? के हामी मरुभुमीमा ज्यानको बाजी लगाएर परिवार भन्दा टाढा बसेर ५० डिग्रिको घाममा सेकिएर कमाएको पैसाले राष्ट्रलाई सहयोग गर्दा पनि हामीले केही छुट नपाउने ? हामी कहिलेसम्म चुप लगेर बस्ने ?
र अर्को कुरा नेपालबाट पहिलो चोटि होस् या छुट्टी बिताएर फर्किन लागेका हामी बैदेशिक रोजगारी वालालाई जीवन बिमा  र श्रम भनेर रु.२८०० लिने गर्छन् । ठिकै छ । जीवन बिमा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको हितमा चालिएको कदमलाई हामीले नेपाल सरकारलाई सहयोग गर्नै पर्छ । तर यो श्रम भनी संकलन गरिएको रकम कहाँ जान्छ? के काममा प्रयोगमा ल्याइन्छ? तपाईंलाई थाहा छ ? सायद थाह छैन होला ? अब यो रमक भनेको हामीले हिरा सरह पसिना बगाएर कमाएको पैसा त्यसरी खेरजाँदा तपाईंलाई दु:ख लाग्दैन ? अवस्य पनि लाग्छ नि है? हो, त्यसैले खोजीनिती हुनैपर्छ पर्छ, होइन र?
प्रायः जसो खाडी मुलुकमा धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दु:ख पाउनु भएको छ र धेरै जना घर फिर्तीको निम्ती टिकेट नपाएर दुताबासमा त्यसै बसिरहेका छन् । तिनीहरुलाई नेपाल सरकारले किन उद्दार गर्दैन?  जब कि  तथ्यांक अनुसार नेपालको आर्थतन्त्र ४०% बिदेशमा काम गर्न गएको नेपालीहरुबाट प्राप्त हुन्छ भनिएको छ र हामीले श्रममा बुझाएको पैसा त्यहाँ खर्च  हुनुपर्छ । पारदर्शी हुनु पर्छ । नत्र “काम गर्ने कालु मकै खाने भालु ” भने जस्तै हुन्छ ।
लेखक बिगत ६ वर्ष  देखि बैदेशिक रोजगारको सिलसिलमा दुबईमा कार्यरत हुनुहुन्छ –सम्पादक

No comments:

Post a Comment